Saturday, September 5, 2026

मानव बेचबिखनविरुद्धको २० औँ राष्ट्रिय दिवस : बारामा तीन वर्षमा ४ मुद्दा

Advertisement
Advertisement Advertisement

बारा,२० भदौ । मानव बेचबिखनविरुद्धको २० औँ राष्ट्रिय दिवसको अवसरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा मानव बेचबिखनविरुद्ध जनचेतनामूलक कार्यक्रम गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा शनिबार ‘प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ देशव्यापी रूपमा सञ्चालन भइरहेको अभियानअन्तर्गत कार्यक्रम गरिएको हो।

कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार र मानव तस्करीको परिचय, कानुनी प्रावधान,सजाय,मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४, नेपालमा देखिएका बेचबिखनका प्रवृत्ति तथा रोकथाममा विद्यार्थी, अभिभावक र समुदायको भूमिकाबारे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाराका प्रहरी निरीक्षक राजाबाबु ठाकुरले प्रस्तुतीकरण दिएका थिए।

प्रस्तुतीकरणका क्रममा प्रहरी निरीक्षक ठाकुरले मानव बेचबिखनका विभिन्न स्वरूप, कानुनी व्यवस्था तथा यसको रोकथाम, नियन्त्रण र न्यूनीकरणका उपायबारे जानकारी गराएका थिए। उनले सामाजिक सञ्जाल तथा प्रविधिको गलत प्रयोगका कारण मानव बेचबिखनका लागि नयाँ–नयाँ माध्यमको प्रयोग हुन थालेको र जोखिमसमेत बढ्दै गएको बताए।

जिल्ला प्रहरी कार्यालय बाराको तथ्यांकअनुसार पछिल्ला तीन आर्थिक वर्षमा जिल्लामा मानव बेचबिखनसम्बन्धी चार वटा मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष २०८०/०८१ मा कुनै मुद्दा दर्ता नभएकोमा २०८१/०८२ मा एक र २०८२/०८३ मा तीन वटा मुद्दा दर्ता भएको तथ्यांक कार्यक्रममा प्रस्तुत गरिएको थियो। ती घटनामा चार जना महिला पीडित भएको देखिएको छ।

बारामा टिकटक स्टार बनाइदिने तथा डान्स सिकाएर धेरै पैसा कमाउने प्रलोभनमा युवतीलाई सिराहा लैजाने घटनासमेत अनुसन्धानको क्रममा देखिएको कार्यक्रममा जानकारी दिइएको थियो। त्यस्तै, बिहे गर्ने प्रलोभनमा भारत लगेर कोठामा बेचिएको घटना पनि बारामा देखिएको प्रहरी निरीक्षक ठाकुरले बताए।

अपराध अनुसन्धान शाखाकी प्रहरी नायब निरीक्षक मनमाया लिम्बूका अनुसार बारामा मानव बेचबिखनका घटनाका मुख्य कारणमध्ये अशिक्षा, गरिबी र घरेलु हिंसा रहेका छन्। यस्ता समस्याका कारण व्यक्ति विभिन्न प्रलोभनमा पर्ने जोखिम बढी हुने भएकाले परिवार तथा समुदायस्तरबाटै सचेतना आवश्यक रहेको उनले बताइन्।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको भन्दै यसको प्रयोगमा विशेष सावधानी अपनाउन आग्रह गरे। उनले सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिको सम्पर्क, रोजगारी, विवाह, विदेश जाने तथा चर्चित बनाउने प्रलोभनमा पर्दा मानव बेचबिखनको जोखिम हुन सक्ने बताए।

डिएसपी घलेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो। सो कार्यक्रमको सञ्चालन प्रशासन शाखाका प्रहरी नायब निरीक्षक प्रिन्सकुमार साहले गरेका थिए।

मानव बेचबिखनविरुद्धको अभियानलाई दिवसमा मात्र सीमित नराखी निरन्तर जनचेतना, निगरानी र समन्वयमार्फत प्रभावकारी बनाउने प्रतिबद्धता कार्यक्रममा व्यक्त गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर