बारा, १३ असोज । कलैया सिटी जेसिजको जेसिज सप्ताह-२०२६ अन्तर्गत पाँचौँ दिन मंगलबार ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।
अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाको चेकपोस्ट अगाडि आयोजित एक कार्यक्रमबीच एक सयभन्दा बढी मोटरसाइकल, अटो, भ्यानलगायतका सवारीसाधनमा टल्किने रिफ्लेक्टिभ स्टिकर टाँसिएको थियो।
कार्यक्रमका संयोजक तथा २०२६ का उपाध्यक्ष राजेश पण्डितका अनुसार रातिको समयमा सवारीसाधनलाई टाढैबाट पहिचान गर्न सहज बनाउने तथा सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले रिफ्लेक्टिभ स्टिकर टाँसिएको हो।
कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका प्रमुख प्रहरी सहायक निरीक्षक प्रिन्शानन्द यादवले अटो चालकलाई रुट परमिट, सवारी चालक अनुमतिपत्र, ब्लुबुक तथा दुई पाङ्ग्रे सवारीसाधन विषेश गरि मोटरसाइकल प्रयोग गर्दा हेल्मेटको फिता अनिवार्य रूपमा प्रयोग गर्न आग्रह गरे। उनले तीव्र गतिमा सवारी नचलाउन तथा ट्राफिक नियमको पूर्ण पालना गर्नसमेत अनुरोध गरे।
विशेषगरी व्यस्त बजार क्षेत्रमा सवारी चाप बढ्दै गएको अवस्थामा चालक, यात्रु तथा पैदलयात्री सबैले ट्राफिक नियमको पालना गरेमा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने सहभागीहरूले बताएका छन्।
कार्यक्रममा २०२६ का महासचिव संजय कुशवाहा महतो, २०२५ का निवर्तमान अध्यक्ष ओमप्रकाश सर्राफ, सतेन्द्र गुप्ता, धर्मेन्द्र प्रसाद यादव, आकाश साहलगायत जेसिजका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
यसैगरी जेसिज सप्ताह–२०२६ अन्तर्गत छैटौँ दिन बुधबार कलैया उपमहानगरपालिका–७ बरेवास्थित दुर्गा माध्यमिक विद्यालयमा मोटिभेसनल ट्रेनिङ आयोजना गरिने अध्यक्ष सन्दीप कुमार साहले जानकारी दिए।






