Friday, October 2, 2026

जीतपुरसिमराका चार वडाका भूमिहीनलाई लालपूर्जा दिने प्रक्रिया अघि बढाइयो

Advertisement
Advertisement

बारा,१६ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ। उपमहानगरपालिकाले वडा नं. १, ४, १४ र २२ का लाभग्राहीको विवरण प्रमाणीकरण गरेको हो।

स्थानीय तह भूमि सहजीकरण समितिको बैठकले ती चार वडाबाट सिफारिस भई आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीको नामावली प्रमाणीकरण गरी आवश्यक निर्णयका लागि नगर कार्यपालिकामा पेश गर्ने निर्णय गरेको छ।

लाभग्राही छनोटअघि सम्बन्धित वडा कार्यालयले सात दिनको सार्वजनिक सूचना जारी गरी दाबी–विरोधका लागि समय दिएको थियो। त्यसपछि वडास्तरीय भूमिहीन तथा अव्यवस्थित बसोबासी व्यवस्थापन सहजीकरण समितिको सिफारिसलाई वडा समितिले प्रमाणित गरेपछि नगरस्तरीय समितिले लाभग्राहीको विवरण प्रमाणीकरण गरेको हो।

अब नगर कार्यपालिकाबाट निर्णय भएपछि चार वडाका फाइल भूमि समस्या समाधान आयोग, बारा कार्यालयमा पठाइनेछ। आयोगबाट आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि लाभग्राहीलाई जग्गाधनी प्रमाणपुर्जा अर्थात् लालपूर्जा वितरण गर्ने प्रक्रिया अघि बढ्नेछ।

नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख एवं समितिका सहसंयोजक भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौला तथा सम्बन्धित वडाका वडाध्यक्षहरूको सहभागिता थियो।

यसअघि उपमहानगरपालिकाका वडा नं. १, २, १८ र २१ का भूमिहीन तथा अव्यवस्थित बसोबासीको नामावली नगर कार्यपालिकाबाट स्वीकृत भइसकेको छ। ती वडाका फाइलसमेत भूमि समस्या समाधान आयोग, बारामा पठाइसकिएको उपमहानगरपालिकाले जनाएको छ।

चार नयाँ वडाको नामावली पनि प्रक्रियामा समेटिएपछि लामो समयदेखि जग्गाको स्वामित्व प्रमाणपत्रको प्रतीक्षामा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले लालपूर्जा पाउने प्रक्रिया थप अघि बढेको उपमहानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर