Saturday, October 3, 2026

कलैयामा छात्रवृत्ति कार्यविधि असोज २१ गतेसम्म राजपत्रमा प्रकाशन हुने : शिक्षा प्रमुख यादव

Advertisement
Advertisement

बारा,१७ असोज । बाराको कलैया उपमहानगरपालिकाले विद्यार्थी छात्रवृत्ति वितरण तथा व्यवस्थापनसम्बन्धी कार्यविधि–२०८३ छिट्टै राजपत्रमा प्रकाशन गर्ने भएको छ। कलैया उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख राजिव कुमार यादवले कार्यविधि तयार भइसकेको र कानुनी रूपमा लागू गर्न राजपत्रमा प्रकाशन गर्न मात्र बाँकी रहेको बताएका छन्।

बाराको कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुल +२ साइन्स एन्ड म्यानेजमेन्ट कलेजको प्राङ्गणमा शनिबार आयोजित कक्षा ११ का विद्यार्थीको स्वागत कार्यक्रममा बोल्दै यादवले यस्तो बताएका हुन्। उनका अनुसार कार्यविधि अन्तिम चरणमा पुगेको छ। प्रमुख प्रशासकीय अधिकृत काठमाडौंमा रहेकाले उहाँ पालिका आएलगत्तै कार्यविधि राजपत्रमा प्रकाशन गरिनेछ। असोज २१ गते बुधबारसम्म कार्यविधि राजपत्रमा प्रकाशन हुने उनले जानकारी दिए।

कार्यविधि लागू भएपछि सम्बन्धित मापदण्डका आधारमा विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने उनले बताए। कार्यक्रममा यादवले कलैया उपमहानगरपालिकाले सामुदायिक तथा निजी विद्यालयको नियमित अनुगमन गरिरहेको बताए। उनका अनुसार अन्य विद्यालयको तुलनामा बाल एकता स्कुलमा समेत नियमित रूपमा अनुगमन हुँदै आएको छ।

उनले विद्यार्थीको शैक्षिक विकाससँगै अनुशासन र संस्कारलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए। ‘अनुशासन भएन भने कुनै पनि काममा सफलता पाउन सकिँदैन,’ उनले भने, ‘संस्कार घरबाट अभिभावकले र त्यसपछि विद्यालयले सिकाउँछ।’

कलैयालाई शिक्षाको हब बनाउने जिम्मेवारी अभिभावक, शिक्षक र विद्यार्थी सबैको हातमा रहेको यादवले बताए। प्रविधि र एआईको बढ्दो प्रयोगसँगै विद्यार्थीमा अनुशासन र संस्कार कमजोर हुन नदिन अभिभावक तथा विद्यालय सचेत हुनुपर्ने उनको भनाइ थियो।

विद्यार्थीलाई गलत गतिविधिबाट टाढा रही अभिभावकको विश्वास, इज्जत र प्रतिष्ठा कायम राख्ने गरी अध्ययनमा केन्द्रित हुन उनले आग्रह गरे। घरायसी जिम्मेवारीसँगै पढाइलाई उच्च प्राथमिकता दिई लगनशील भएर अघि बढ्न उनले विद्यार्थीलाई सुझाव दिए। विद्यार्थीको गतिविधि र उपलब्धिका कारण बाल एकता स्कुलले जिल्लामै आफ्नो पहिचान बनाउन सफल भएको पनि उनले बताए।

सोही कार्यक्रममा श्री ३ चन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश कुशवाहा, सनराइज कोचिङ सेन्टरका प्रबन्ध निर्देशक सन्तोष प्रसाद साह, न्यु नारायणी एकेडेमीका संस्थापक राजेश यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

त्यसैगरी विद्यालयका प्रबन्ध निर्देशक सुमोद कुमार सरार्फले बाल एकता स्कुल विद्यार्थीका लागि दोस्रो अभिभावकको भूमिकामा रहेको बताए। विद्यार्थीको अध्ययनका लागि आवश्यक शैक्षिक वातावरण तथा अन्य सुविधाको व्यवस्था गर्न विद्यालय प्रतिबद्ध रहेको उनको भनाइ थियो।

बाल एकतामा अध्ययनरत विद्यार्थी पढाइसँगै अनुशासन र अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको सरार्फले बताए। विद्यार्थीलाई आफूभित्र रहेको प्रतिभा पहिचान गरी योजनाबद्ध रूपमा अघि बढ्न उनले आग्रह गरे। बाल एकता स्कुलका पूर्वविद्यार्थी शुभम सिंह ‘कमेडी च्याम्पियन’ सिजन–४ मा सहभागी भएकाले उनलाई मतदान गरी अघि बढाउन समेत सरार्फले आग्रह गरे।

यसैबीच, कार्यक्रममा कक्षा १२ का विद्यार्थीले कक्षा ११ मा भर्ना भएका व्यवस्थापनतर्फका ५६ र विज्ञानतर्फका ५१ गरी कुल १०७ जना नयाँ विद्यार्थीलाई स्वागत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष भोला साह सोनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख राजिव यादवले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा विद्यालयका सहायक निर्देशक संगिता सरार्फ, छात्रावास निर्देशक छाया सरार्फ, शिक्षा तालिम केन्द्र मधेस प्रदेशका कोषाध्यक्ष नरेन्द्र कुमार निधि, कलेजका शिक्षक–शिक्षिका, विद्यार्थी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य +२ संयोजक प्रिन्स कुमार सिंहले गरेका थिए भने अनुज श्रीवास्तव, आशिष कुशवाहा र श्रुति कुशवाहाले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर