Sunday, October 4, 2026

नेशनल प्याब्सन मधेस प्रदेशका नवनिर्वाचित बाराका पदाधिकारीलाई सम्मान

Advertisement
Advertisement

बारा, १७ असोज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को तेस्रो मधेस प्रदेश अधिवेशनबाट निर्वाचित बारा जिल्लाका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरिएको छ । नेशनल प्याब्सन बारा जिल्ला कार्यसमितिको आयोजनामा आइतबार आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

नेशनल प्याब्सन बारा जिल्ला कार्यवाहक अध्यक्ष सुमोद कुमार सरार्फको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय सचिव अली मोहम्मद अन्सारीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

महोत्तरीको बर्दिबासमा असोज ३ र ४ गते सम्पन्न नेशनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशनबाट निर्वाचित अध्यक्ष प्रभुलाल प्रसाद कुशवाहा, कोषाध्यक्ष मंगेश्वर प्रसाद यादव, सह–सचिव के.एस. फिसिजन तथा सदस्यहरू राजकिशोर साह, भोला प्रसाद गौतम, सुनिल कुमार साह र सरोज चन्द्र कार्कीलाई सम्मान गरिएको हो । त्यसैगरी, कलैया उपमहानगरपालिकाका नगर सचिव वसन्त कुमार घिमिरेलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नगर सचिव घिमिरेले संगठनलाई एकरूपताका साथ अघि बढाउनुपर्नेमा जोड दिए । उनले सामुदायिक विद्यालयहरूले अंग्रेजी माध्यम सञ्चालनका नाममा शुल्क लिने गरेको विषयमा अदालतको निर्णय कार्यान्वयन हुन नसकेको भन्दै सम्बन्धित निकायले यसतर्फ गम्भीर पहल गर्नुपर्ने बताए । संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

नवनिर्वाचित मधेस प्रदेश सह–सचिव के.एस. फिसिजनले बारा जिल्ला कार्यसमितिको दुईतल्ले भवन निर्माणका लागि ५० बोरा सिमेन्ट सहयोग गर्ने घोषणा गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित मधेस प्रदेश अध्यक्ष प्रभुलाल प्रसाद कुशवाहाले छात्रवृत्तिको विषयलाई प्रदेशको प्रमुख एजेन्डाका रूपमा अघि बढाइरहेको बताए । उनले गत भदौ १५ गते मधेस प्रदेशका शिक्षा, गृह तथा अर्थमन्त्रीसमक्ष छात्रवृत्तिसम्बन्धी विषय राखिसकेको बताउदै छात्रवृत्तिको अधिकार कार्यान्वयन नभए संगठनले सशक्त रूपमा आवाज उठाउने चेतावनी दिए ।

उनका अनुसार बाराका सामुदायिक विद्यालयहरूले अंग्रेजी माध्यम तथा विभिन्न बहानामा शुल्क लिने गरेको विषयमा अभिभावकहरूले अदालतमा मुद्दा दायर गरी जितिसकेका छन्। तर, अदालतको फैसला हालसम्म पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। छात्रवृत्तिको विषयमा निजी विद्यालयहरू एकजुट भएर आवाज उठाउनुपर्नेमा अध्यक्ष कुशवाहाले जोड दिए।

उनले मधेस प्रदेशमा आगामी मंसिर १२ गते ‘आजको युवा तथा विद्यार्थीमा मोबाइल : अवसर कि चुनौती ?’ विषयमा प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना हुने जानकारी दिए । त्यस्तै, माघ महिनामा क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको र जिल्लास्तरीय प्रतियोगिताका उत्कृष्ट खेलाडी छनोट गरी प्रदेशस्तरीय टोली निर्माण गरिने बताए ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सचिव अली मोहम्मद अन्सारीले छात्रवृत्तिसम्बन्धी समस्या मधेस प्रदेशमा बढी रहेको बताए । उनले काठमाडौंमा निजी विद्यालयको संख्या बढी रहे पनि छात्रवृत्तिको समस्या त्यति प्रभावकारी रूपमा नदेखिएको बताउदै काठमाडौंमा समेत यसको प्रभाव देखिएपछि समस्या समाधानका लागि दबाब बढ्ने धारणा राखे ।

मधेस प्रदेशमा छात्रवृत्तिलगायत निजी विद्यालयका क्षेत्रमा देखिएका समस्या समाधानका लागि यही प्रदेशबाट सशक्त आवाज उठ्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमका अध्यक्ष तथा नेशनल प्याब्सन बारा कार्यवाहक अध्यक्ष सुमोद कुमार सरार्फले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले संगठनलाई थप मजबुत बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

सरार्फले छात्रवृत्ति, सामुदायिक विद्यालयसँगको प्रतिस्पर्धा, प्रविधिको प्रयोगलगायतका विषयमा निजी विद्यालयले चुनौती सामना गरिरहेको बताए । सामुदायिक विद्यालयले अंग्रेजी माध्यमका नाममा शुल्क लिने समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

त्यसैगरी, ईएमआईएसमा पालिकासँगको समन्वयमा विद्यार्थी स्थानान्तरणमा हुने अनियमितता रोक्न कडा नियम बनाउँदै आवश्यक कारबाहीका लागि पहल गर्ने उनले बताए ।

जिल्लाका विभिन्न पालिकामा रहेका निजी विद्यालयका समस्या पहिचान गरी समाधानका लागि संगठनले निरन्तर पहल गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य कमलेश प्रसाद कुशवाहा, विजय चौधरी, महागढीमाई नगर अध्यक्ष सिकेन्द्र कुशवाहा, नगर सदस्य प्रेमचन्द्र कुमार कुशवाहालगायत विभिन्न पालिकाका पदाधिकारी तथा निजी विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेशनल प्याब्सन बारा जिल्ला सचिव पुनदेव चौधरीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर