बारा,२४ असोज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१४ बेहरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेहरी निवासी रामचन्द्र महतोकी श्रीमती ४५ वर्षीया सिरिया देवी महतो रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार दिउँसो करिब १ः५० बजे आफ्नै घरपछाडि सरसफाइ गर्ने क्रममा नाङ्गो तार छुँदा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई श्रीमान् रामचन्द्र महतोले उपचारका लागि सिमरास्थित सिटी स्टार अस्पताल पुर्याएका थिए। अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गर्दा दिउँसो २ बजे उनलाई मृत घोषणा गरेको बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
उनका अनुसार घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको कमान्डमा सोकोसहित मुचुल्का टोली घटनास्थलमा खटिएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव सिटी स्टार अस्पतालमै राखिएको प्रवक्ता घलेले जानकारी दिए ।






