कलैया, ३१ असोज। बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ३ मा गएराति एकैदिन तीनवटा घरमा चोरी भएको छ। अज्ञात चोरहरूको समूहले स्थानीय तीन जना को घरमा लुटपाट गरी लाखौँ मूल्य बराबरको धनमाल चोरी गरेको हो।
स्थानीयका अनुसार चोरको समूहले स्वर्ण गाउँपालिका–३ का महिन्द्र प्रसाद यादव, अनुठा कुशवाहा र साहेब प्रसाद यादवको घरमा चोरी गरेको हो। चोरहरूले घरको पर्खाल फुटाएर (सेन फोरेर) भित्र पसी धनमाल लुटेको बताइएको छ।
चोरी भएका मध्ये एकजनाको घरबाट मात्रै दुई लाख रुपैयाँ बराबरको सुनचाँदीका गरगहना र नगद चोरी भएको पुष्टि भएको छ। सोही समूहले सोही स्थानका अन्य दुई जनाको घरमा समेत लुटपाट गरेको स्थानीयले जनाएका छन्।
घटनाको विस्तृत विवरण र कुल क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ।





