बारा, ०५ कात्तिक । इन्टरनेटमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपी मा दुईवटा गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइटहरू (.gov.np) अस्थायी रूपमा बन्द भएका छन्।
एआई प्रविधिको प्रयोगबाट पत्ता लागेका यी कमजोरीहरूलाई साइबर सुरक्षा कम्पनी विजले अहिलेसम्मकै सबैभन्दा गम्भीर खतराहरूमध्ये एक रहेको बताएको छ।
यस समस्याका कारण आज राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, जल तथा मौसम विज्ञान विभागसहित देशभरका स्थानीय तह र पालिकाहरूका वेबसाइटहरू खुलेका छैनन्।
साइबर सुरक्षा निकायहरूले यसअघि नै उक्त कमजोरी समाधान गर्नका लागि सुरक्षा अपडेट जारी गरिसकेका थिए। तर, समयमै उक्त अपडेट लागू गर्न नसक्ने सरकारी तथा अन्य निकायहरूलाई सम्भावित साइबर आक्रमण र डेटा चोरीबाट बच्नका लागि आफ्ना वेबसाइटहरू तत्काल अस्थायी रूपमा बन्द राख्न सुझाव दिइएको थियो।
सोही सिफारिसका आधारमा नेपालका सम्बन्धित प्राविधिक निकायहरूले जोखिम न्यूनीकरणका लागि वेबसाइटहरू बन्द गराएका हुन्। हाल सम्बन्धित संस्थाहरूले पीएचपीको नयाँ सुरक्षा अपडेट लागू गर्ने प्रक्रिया अगाडि बढाइरहेका छन् र प्राविधिक तयारी पूरा हुनासाथ वेबसाइटहरू पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।





