कलैया, २० असोज । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ दुधौरा खोलामा टिकटक बनाउने क्रममा आइतबार बेपत्ता भएका युवकको आज पनि खोजीकार्य भैरहेको छ ।
दुधौरा पुलबाट दुधौरा खोलामा टिकटक बनाउने क्रममा हाम फालेका स्थानीय २१ वर्षीय बिक्की गोसाई आइतबार बिहान बेपत्ता भएका थिए । सुरक्षाकर्मीले हिजो दिनभरी खोजतलास गर्दा युवक फेला परेका थिएनन् ।
आज (सोमबार) बिहानै देखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाली सेनाको संयुक्त टोली परिचालन भएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।
उनका अनुसार नेपाल प्रहरीको १० जना, सशस्त्र प्रहरीको १० जना र नेपाली सेनाको २३ जना गरी ४३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।