कलैया,२३ असोज । सरकारले अध्यादेश मार्फत मतदाता नामावली संकलन गर्ने व्यवस्था गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूको जिल्ला निर्वाचन कार्यालय बारामा घुइँचो बढेको छ ।
निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्न खुला गरेपछि गत असोज १० गतेदेखि नामावली सङ्कलनको कार्य सुरु भएको हो ।
असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली दर्ता कार्यमा असोज २२ गतेसम्म बारामा पुरुष ४ सय ५९ र महिला १ सय ९० जना गरी कुल ६ सय ४९ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नवीन चौधरीले जानकारी दिएका छन् । बारामा हाल कुल ४ लाख ४१ हजार २८१ मतदाता रहेका छन् । जसमा २ लाख ४१ हजार ५८८ पुरुष, १ लाख ९९ हजार ६८२ महिला र ११ जना अन्य रहेको कार्यालय प्रमुख चौधरीले बताए ।
केही मतदाताको निधन भएकाले उनीहरूको नाम हटाउने कार्य पनि भइरहेको छ भने, विवरण सच्याउने र मतदान केन्द्र परिवर्तन गर्ने कार्यहरू पनि निर्वाचन कार्यालयमा सञ्चालन रहेको कार्यालय प्रमुख चौधरीले जानकारी दिए ।
अहिले बारामा नाम दर्ता कार्य बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने गरेको उनले जानकारी दिएका छन् ।