Saturday, June 6, 2026

कलैयामा कुटपिटपछि हत्या : बारा प्रहरीद्वारा चार जना पक्राउ

spot_img

कलैया,०४ असार । पुरानो रिसीविको कारण कुटपिट गरी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा बारा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार जेठ २९ गते कलैया उपमहानगरपालिका–१४, बघवन टोलका ५० वर्षीय नन्दु राउत कुर्मीमाथि सोही टोलका ४० वर्षीय उमेश जैसवालसहित ६ जनाको समूहले कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका कुर्मीलाई तत्कालै प्रादेशिक अस्पताल, कलैयामा उपचारका लागि लगिएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि अनुसन्धान थालेको प्रहरीले सोही दिन २८ वर्षीय दिगम्बर साह कलवारलाई पक्राउ गरेको थियो। उनलाई ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। अन्य फरार अभियुक्तहरूको खोजी गर्ने क्रममा प्रहरी निरीक्षक खेमप्रसाद नेपालको नेतृत्वमा खटिएको विशेष टोलीले बुधबार थप तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये एक महिला कलैया उपमहानगरपालिका–५ स्थित सागर लामिछानेको घरमा लुकेर बसेको अवस्थामा भेटिएकी हुन्। अन्य दुई पुरुषलाई पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१, शान्ति टोलस्थित बसिर मियाँको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमा कुटपिटका मुख्य आरोपी उमेश जैसवालकी श्रीमती ३८ वर्षीया रन्जु जैसवाल, उनका छोरा २० वर्षीय सुमित जैसवाल र अर्का छोरा १८ वर्षीय सुजितकुमार जैसवाल रहेका छन्।

उनीहरूमाथि बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै घटनामा संलग्न अन्य फरार अभियुक्तहरूको खोजी कार्य तीव्र पारिएको पनि जानकारी दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर