राजेश्वर मण्डल
माघ ०८, वीरगन्ज । आँपलाई फलफूलको राजा पनि भनिन्छ र यो नेपालमा खासगरि यसको खेती तराई भित्रि मधेश र पहाडमा गर्दा पनि मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, चितवन र नवलपरासी जस्ता प्रमुख जिल्लाहरुमा आँप उत्पादन बढी गरिन्छ।
यसको सफल खेती र फूल फुल्ने प्रक्रिया मौसमको अवस्था, माटोको गुणस्तर र सही व्यवस्थापन अभ्यासहरूमा निर्भर गर्दछ। आँपको फूल फुल्ने प्रक्रियामा तापक्रम सबैभन्दा महत्त्वपूर्ण हुन्छ। आपमा फुल तथा मोजर आउने समय विभिन्न तत्वहरुमा भर पर्छ तरपनि माघको अन्तिम हप्ता देखि फाल्गुन महिना सम्म बोटमा मोजर आउन थाल्छ।
आँपको बोटको विकासको लागि २४ डिग्री सेल्सियसदेखि ३० डिग्री सेल्सियस सम्मको तापक्रम उपयुक्त हुन्छ भने फूल फुल्ने समयमा उपयुक्त तापक्रम २० देखि २५ डिग्री सेल्सियस हुन्छ। यदि फूल फुल्ने समयमा न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस भन्दा कम छ भने, फूल फुल्न ढिलाइ हुन सक्छ त्यस्तै फूल फुल्ने समयमा ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमले फूल झर्छ।
एउटा स्वस्थ रुखमा पुरै मोजर लागेको मध्ये ०.१% मात्र मोजरको आँप फल्छ र बाकीको ९९.९% मोजर विभिन्न कारणले गर्दा झर्छ तरपनी रुखमा आप लटरम्म फलेको हेरिन्छ तर योआप झरेको मोजरको अनुपातलाइ कम गर्न घरको वरिपरि अथवा बगैंचामा लागाइएको रुखहरुमा विभिन्न किसिमका मापदण्डहरु अपनाइ रुखहरुबाट धेरै भन्दा धेरै आपको उत्पादन लिन सकिन्छ ।
आँपमा फूल फुल्ने ( मोजर ) समय रूखको उचित व्यवस्थापन र रोग-कीरा नियन्त्रणको लागि धेरै महत्त्वपूर्ण छ। आँपमा मोजर आउनु अघि र पछिको हेरचाहले उत्पादनमा मात्र वृद्धि नभइ फलको गुणस्तरमा पनि सुधार गर्न सक्छ।
आँपमा मोजर वा फुल फुल्न अझै करिब एक महिना बाँकी छ, यो महिनामा आँपको बगैंचा तथा बोटहरुमा निम्न कार्यहरु गर्दा धेरै भन्दा धेरै उत्पादन लिन सकिन्छ।
माटो तयारी र सफाइ:
मोजर आउनु अघि बगैंचा सफा गर्नु धेरै महत्त्वपूर्ण हुन्छ। पौष-माघ महिनामा बगैंचा वरपरको माटोमा क्लोरपाइरिफस १.५ पाउडर (२५० ग्राम/रुख) छर्क्नुहोस् वा माटोमा मिसाउनुहोस। यसले सिन्डी किरालाई नियन्त्रण गर्न मद्दत गर्दछ।
बोटका डाँठहरूको संरक्षण:
सिन्डी किराहरु रुखमा चढेर नया मोजर तथा सानो सानो फललाइ खान्छ त्यसैले यी कीरालाई रूखमा चढ्नबाट रोक्नको लागि, अल्काथिन (४५ सेन्टिमिटर चौडाई) को पट्टी सुतलीले रुखको फेद वरिपरि बाँध्नुहोस् र त्यसमा ग्रीस लगाउदा यो किरा रूखमा चढ्न चढ्न सक्दैन ।
किराको ब्यवस्थापन:
यदि कीराहरू रूखमा चढेका छन् भने, डाइमेथोएट ३० इसी वा क्विनालफस २५ इसी (१.५ एमएल प्रति लिटर पानी मिलाएर ) छर्क्नुहोस्। यो बोटको फेदमा रहेको दरारहरूमा पनि छर्नुपर्छ किनभने यी दरारहरूमा हपर किराहरू लुकेर बस्छन्।
लर्भा कीराहरूले बिरुवाको रस चुसेर हानि गर्छ। यी कीराहरू नियन्त्रण गर्न इमिडाक्लोप्रिड १७.८ एसएल (१ एमएल/२ लिटर पानी) बोटको पातमा छर्क्नुपर्छ । यो स्प्रे मोजर फुल्नुभन्दा कम्तीमा दश दिन अघि गर्नुहोस् ताकि मौरीलाई कुनै हानी नहोस्।
परागकण र उपज बढाउने उपायहरू:-
आँपको बगैचामा मौरीको उपस्थितिले परागणमा सुधार गर्छ, जसले फल उत्पादनको सम्भावना बढाउँछ। बगैँचामा मौरीको बाकस राख्दा धेरै फाइदा हुन्छ।
बगैंचा तथा बोटको वरिपरिको सरसफाइ:
बगैंचामा झरेका पातहरू र सुख्खा हाँगाहरूलाई उचित ब्यवस्थापन गर्नुपर्छ नत्र यसले ढुसी जन्य किटाणु र कीराहरूको लागि अनुकूल वातावरण सिर्जना गर्दछ। साथै जराको वरिपरिमा रहेको स-साना घाँस बोतबिरुवालाइ काटेर जलाइदिनु पर्छ।
गहिरो सिँचाइ नगर्नुहोस् :
मोजर (फूल) बन्नुभन्दा १ महिना अगाडि देखि गहिरो सिँचाइ गर्नु हुदैन, अत्यधिक पानीले गर्दा माटोमा अत्यधिक चिसो हुन्छ, जसले फूल फुल्ने प्रक्रियालाई बाधा पुर्याउँछ। यसले फूल झर्ने सम्भावना बढाउँछ।
अनियमित रूपमा काटछाट नगर्नुहोस:
फूल फुल्नु अघि अत्यधिक वा अनावश्यक रुपमा बोटको हाङाहरु काटछाट गर्नु हुदैन यसले बिरुवाहरूलाई कमजोर पार्न सक्छ र फूल फुल्ने प्रक्रियालाई असर गर्न सक्छ। ठीक समयमा सुख्खा र रोगी हाँगाहरू मात्र हटाउनुहोस्।
मलको अत्यधिक प्रयोग नगर्नुहोस्:
अत्यधिक नाइट्रोजन आधारित मलहरू प्रयोग नगर्नुहोस्, किनकि यसले पातहरूको वृद्धि र बिरुवाहरूको फूल फुल्न रोक्छ। सन्तुलित मलको प्रयोग गर्नुहोस् र पोटासको अत्यधिक प्रयोग नगर्नुहोस्, नत्र भन्ने फूल झर्न सक्छ। फूलले फल लगाएपछि मात्र मल र मलको प्रयोग गर्नुपर्छ।
(लेखक मण्डल पन्जाब टेक्निकल युनिभर्सिटी, भारतबाट कृषिमा स्नातक गरी हाल नेपालमा कृषि लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ।)