Monday, August 10, 2026

पचरौता नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर 

कलैया, ०९ बैशाख । बाराको पचरौता नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले मुद्दा दायर गरेको छ । सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमितता गरेको भन्दै नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अंसारी विरुद्ध मंगलबार बिशेष अदालतमा मुद्दा दायर भएको हो ।

नगरपालिकाबाट आव २०७७/०७८ मा सञ्चालन भएका ठेक्काको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा केएस मल्टिपरपोज प्राइभेट लिमिटेडका अध्यक्ष कमलकुमार उपाध्याय समेतको मिलेमतोमा पचरौता नगरपालिकाको ठेक्काको अभिलेखमा राख्नका लागि मात्रै ‘प्रभाव दैनिक पत्रिका’ मा एकप्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको पाइएको थियो।

उक्त विवरण नगरपालिकामा पेश गर्न लगाई झुट्टा विवरण सहितको पत्रिकाको आधारमा ३ लाख ५२ हजार ५६० रुपैयाँ केएस मल्टिपरपोज प्राइभेट लिमिटेडलाई भुक्तानी दिएको अनुसन्धानको क्रममा पुष्टि भएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजेन्द्र पौडेलले विज्ञप्ति निकालेर जानकारी दिए । विज्ञप्तिमा तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र लेखापाल अंसारीको उक्त कार्य भ्रष्टाचारजन्य कसूर भएकोले ३ लाख ५२ हजार ५६० विगो कायम गर्दै कैद र बिगो बमोजिम जरिवाना सजाय गरी बिगो असूल गर्न मागदाबी गरिएको छ ।

यस्तै केएस मल्टिपरपोज कम्पनीका अध्यक्ष उपाध्यायले पचरौता नगरपालिकाबाट आव ०७७/७८ मा सञ्चालन भएका ठेक्काको बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन नगरी ठेक्काका लागि मात्रै अभिलेखमा राख्ने गरी एक प्रति मात्र प्रभाव दैनिकमा प्रकाशित गरेर ३ लाख ५२ हजार ५६० भुक्तानी लिएको पुष्टि भएको भन्दै उक्त कसूरजन्य कार्यको गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई कसुर गरेको भन्दै मुख्य कसूरदारलाई हुने सजायलाई आधार मानेर उक्त कम्पनी तथा कम्पनीका अध्यक्ष उपाध्यायलाई मुख्य कसूरदार सरह सजाय गरी बिगो असुल गर्न मागदाबी गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर