जीतपुर,०३ असोज । बाराको परवानीपुर स्थित हेटौडा ग्रिडअन्तर्गतको १३२ केभी सबस्टेशनमा आगलागी हुँदा करोडौँको क्षती भएको छ ।
सब स्टेशनमा रहेको दुईवटा पोल भाँचिर एक अर्काको सम्पर्कमा आउँदा आगलागि भएको हो । क्षतीको बिवरण यकिन अहिलेसम्म हुन नसके पनि ११ के.भि.को एउटा फिडरमा क्षती पुग्दा करिब १० करोडको क्षती हुनजाने परवानीपुर सब स्टेशनका ईन्चार्ज साहयक ईञ्जिनीयर अमित चौधरीले जानकारी दिए । ईञ्जिनीयर चौधरीका अनुसार सब स्टेशनको ९ वटा फिडरमा असर पुगेको बताए ।
आगलागी पछि सर्बसधारणको घरमा बिद्युत सप्लाई गर्न उद्योगहरुलाई बितरण गरिएको लाईन काटिएको छ। बुधबार दिउँसो आगलागी भएपछि अवरुद्ध भएको विद्युत् आपूर्ति पुन सुचारु गरिएको छ । १३२ केभीए ब्रेकरको ‘बुस’ फुट्दा विद्युत् आपूर्ति पुनः अवरुद्ध भएको हो । उनका अनुसार प्रसौनी सबस्टेशनमार्फत अस्थायी रूपमा आपूर्ति मिलाईएको छ।
बुधबार दिउँसो ४ बजे ११ केभी प्यानलमा सर्ट सर्किट भई आगलागी हुँदा सिमरा, कृषि, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, वीरगन्ज, नितनपुर, चोर्नी र भलुही फिडरसहित सबै क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएको थियो ।
आगलागीलाई वरुण यन्त्र, स्थानीय प्रहरी र सर्वसाधारणको सहयोगमा नियन्त्रणमा लिइएको थियो । विद्युत् आपूर्तिमा भएको लगातार अवरोधले औद्योगिक क्षेत्रदेखि व्यापारीक र सर्वसाधारणको दैनिकीसम्म गम्भीर असर पारेको छ । नेपाल विद्युत् प्राधिकरणले भने मर्मत कार्यलाई तीव्र बनाएको र सकेसम्म चाँडो सेवा पुनः सुचारु गर्ने योजनामा रहेको सहायक ईञ्जिनीयर चौधरीले बताए ।
आगलागीबाट ११ केभीको २७ वटा ब्रेकर प्यानलमध्ये ९ वटा प्यानलमा पुर्ण रुपमा क्षती पुगेको छ । उद्योगहरुलाई १० देखि १२ दिनसम्म बैकल्पिक उपाय अपनाएर उद्योग चलाउँन अनुरोध गरिएको परवानीपुरको सब स्टेशन ईन्चार्ज समेत रहेका चौधरीले बताए ।