Thursday, July 23, 2026

वर्षा र हुण्डरीले सुनसरीमा केराखेतीमा ठूलो क्षति

सुनसरी,२१ असोज । गत शुक्रबार र आइतबार वर्षासँगै आएको हावाहुण्डरीका कारण सुनसरीका विभिन्न स्थानका केराखेतीमा ठूलो क्षति पुगेको छ।

सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगरलगायत क्षेत्रका केराखेतीमा हावाहुण्डरीले व्यापक क्षति पुर्‍याएको किसानहरूले बताएका छन्।

भोक्राहा नरसिंह गाउँपालिका–२ का एयुब साहमियाँले आठ वर्षदेखि केराखेती गर्दै आएका छन्। उनले सात बिघा जग्गा भाडामा लिएर रु ६ लाख बैंक ऋण मार्फत केराखेती गरेका थिए। तीमध्ये करिब तीन बिघा एक कठ्ठा क्षेत्रफलमा रहेको बाली पूर्ण रूपमा नष्ट भएको उनले बताए। उनका अनुसार यस वर्ष मात्रै करिब रु १३ लाखभन्दा बढीको क्षति भएको छ।

“हरेक वर्ष बाढीले केराखेतीमा १० देखि २५ लाखसम्मको क्षति पुर्‍याउँछ,” मियाँले भने।

त्यसैगरी, स्थानीय वीरेन्द्र ठाकुरले सात कठ्ठा क्षेत्रमा करिब रु एक लाख लगानी गरेर लगाएको केराखेती पनि हावाहुण्डरीका कारण नष्ट भएको किसानहरूले जनाएका छन्।

जिल्लामा व्यावसायिक केरासहित अन्य बाली लगाउने किसानहरू पछिल्ला वर्षहरूमा निरन्तर प्राकृतिक विपत्तिको मारमा परिरहेका छन्।

कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहका अनुसार जिल्लामा हाल ५३० हेक्टर क्षेत्रमा केराखेती भइरहेको छ। उनका अनुसार बाढी र हुण्डरीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलनको काम जारी छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर