बारा, १२ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा घट्दो क्रममा रहेको जनसंख्या वृद्धिदरलाई सम्बोधन गर्न प्रसूति बिदामा प्रोत्साहनमूलक व्यवस्था गरिएको बताएकी छन्।
प्रतिनिधि सभामा दर्ता गरिएको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक–२०८३’ सोमबार सभासमक्ष प्रस्तुत गर्दै उनले सो धारणा व्यक्त गरेकी हुन्।
विधेयक प्रस्तुत गर्ने क्रममा मन्त्री मेहताले पछिल्लो जनगणना अनुसार देशको जनसंख्या वृद्धिदर निरन्तर घट्दो अवस्थामा रहेकाले यसलाई सन्तुलित बनाउन र जनसंख्या वृद्धिलाई समेत टेवा पुर्याउन कानूनमै बिदा प्रोत्साहन सम्बन्धी नयाँ व्यवस्था थप गर्न लागिएको स्पष्ट पारिन्।
उनले भनिन्, “नेपालको पछिल्लो जनगणना अनुसार नेपालको जनसंख्या वृद्धिदर निरन्तर घट्दो क्रममा रहेको हुनाले जनसंख्या वृद्धिको लागि बिदा प्रोत्साहन समेतका व्यवस्था हुनेगरी कानूनमा संशोधन गर्न आवश्यक रहेको छ ।”
संशोधन विधेयक पारित भई लागू भएपछि महिला कर्मचारी तथा श्रमिकहरूका लागि सुत्केरी बिदासम्बन्धी अधिकार अझ फराकिलो र प्रोत्साहनकारी हुने अपेक्षा गरिएको छ।






