बारा, २१ कात्तिक । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानामा एक युवक मृत अवस्थामा फेला परेका छन्।
सेजको खेतको कुलोमा ३० वर्षीय वीरेन्द्र माझी मृत अवस्थामा फेला परेका छन्। ट्र्याक्टर चालक माझी शुक्रबार साँझ घरबाट निस्केका थिए।
शनिबार बिहान खेतमा काम गर्न गएका स्थानीय बासिन्दाले माझीको शव देखेर प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा नयाँ कपडासहितको झोला समेत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएर थप अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दयाकृष्ण भट्टले जानकारी दिएका छन्।




