बारा, १९ कात्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १ स्थित पथलैया चोकबाट करिब १ किलोमिटर उत्तरतर्फ रहेको जङ्गलको झाडीमा एक पुरुष अचेत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार आज बिहान करिब १० बजेको समयमा अन्दाजी ४२ वर्षीय पुरुष अचेत अवस्थामा रहेको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पथलैया बाराबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले तत्काल ती व्यक्तिलाई उद्धार गरी उपचारका लागि नारायणी न्युरो अस्पताल, वीरगन्ज (पर्सा) पठाएको छ।
हालसम्म ती व्यक्तिको नाम, थर र ठेगाना खुल्न सकेको छैन। प्रहरीका अनुसार गहुँगोरो वर्ण, करिब ५.५ फिट उचाइ, कालो कपाल भएका ती पुरुषले निलो रङको जिन्सको हाफप्यान्ट र खरानी (ग्रे) रङको टिसर्ट लगाएका छन्।
उक्त हुलिया भएका व्यक्तिलाई चिन्नुहुने महानुभाव वा निजका आफन्तजनलाई जिल्ला प्रहरी कार्यालय बाराको सम्पर्क नम्बर १००, ९८५५०४५१०१ वा ९८५५०४८१०१ मा तत्काल सम्पर्क गर्न बारा प्रहरीले अनुरोध गरेको छ।




