बारा, २६ कात्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा आज बिहान यात्रुवाहक इभि गाडी दुर्घटना हुँदा चालकसहित १० जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०८८० नम्बरको माइक्रोबस आज बिहान करिब ५:४५ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल भिरमा खसेर दुर्घटनाग्रस्त भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा परेको उक्त सवारीमा चालकसहित कुल १४ जना यात्रु सवार रहेको खुलेको छ। उद्धार टोलीले घटनास्थलबाट घाइते अवस्थामा ५ जनाको उद्धार गरेको छ भने चालकसहित १० जनाको मृत्यु भएको पुष्टि भएको छ।
दुर्घटनामा ज्यान गुमाउने तथा घाइते भएका व्यक्तिहरूको पहिचान र विस्तृत विवरण आउन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।




