कलैया, ३० असार। बारा जिल्ला सहित तराई–मधेसका जिल्लाहरुमा व्यापकरुपमा खानेपानीको समस्या देखिन थालेको छ । उक्त अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले सरोकारवाला निकायसँग सुझाव संकलन गरेको छ । जिल्ला प्रशासन कार्यालयको सभाहलमा छलफल भएको हो।
बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा आयोजित छलफलमा बारा जिल्लाभित्रका खानेपानीका स्रोत, वितरण प्रणाली, वर्तमान अवस्था र सुधारका उपायबारे विस्तृत रुपमा छलफल गरिएको हो । उक्त छलफलमा प्रतिनिधिसभा सदस्य, स्थानीय तहका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजिक अभियन्ता, सरोकारवाला संघसंस्था लगायत विज्ञ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
सुझाव संकलन कार्यक्रममा सहभागीहरूले बारा जिल्लाभित्र रहेका खानेपानीका स्रोतहरूको संरक्षण, सुधार र उचित व्यवस्थापनमा जोड दिएका थिए । साथै, भूगर्भीय पानीको अत्यधिक दोहन, जलस्रोतको अभाव, वितरणमा असमानता र सरकारी निकायको समन्वयहीनताले समस्या झन् जटिल बनाएको भन्दै दीर्घकालीन रणनीतिमा केन्द्रित हुन आग्रह गरेका थिए ।
जिल्ला प्रशासनले प्राप्त सुझावहरूलाई समेटी नीति निर्माण तहमा पहल र सबैको सहकार्यमा आगामी दिनमा समाधान खोजिने प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।