21.5 C
Kalaiya

Tuesday, October 14, 2025
spot_img
21.5 C
Kalaiya
Tuesday, October 14, 2025

बागमती सिचाइ आयोजनाको नहर मर्मतपछि किसानहरूलाई राहत

spot_img
spot_img

रौतहट, १५ साउन । लामो समयदेखि सिँचाइ समस्याले पिरोलिएका देवाही गोनाही नगरपालिका–५ टिकुलिया र वडा नम्बर ६ कर्कच क्षेत्रका किसानहरूलाई अब राहत मिल्ने भएको छ। बागमती सिचाइ आयोजनाको मुख्य नहरमा आएको अवरोध र सफाइ अभावका कारण यस क्षेत्रका सयौं किसानहरू धान खेतीलगायत बाली सिँचाइ गर्नबाट वञ्चित हुँदै आएका थिए।

Advertisement

सिँचाइ समस्याका कारण कृषिमा आश्रित अधिकांश किसानहरू उत्पादनमा ह्रास आएको र धेरै जमिन बाँझै राख्नु परेको गुनासो गरिरहेका थिए। यसले गर्दा खाद्यान्न आपूर्तिमा समेत समस्या देखिन थालेको थियो। यस्तो अवस्थामा स्थानीय जनप्रतिनिधिहरूको सक्रिय पहलमा अब यो समस्या समाधानको दिशामा महत्वपूर्ण प्रगति भएको छ।

Advertisement

देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह, वडा नम्बर ६ का वडा सदस्य पदका प्रत्याशी पवन ठाकुर र जय माता दी उपभोक्ता समिति अध्यक्ष तेजनारायण साहको संयुक्त पहलमा बागमती सिचाइ आयोजना कार्यालयमा पुगेर समस्या समाधानका लागि आवश्यक छलफल गरिएको थियो। सोही क्रममा तत्कालीन रूपमा डोजर मगाई नहर सफाइ तथा मर्मत कार्य सुरु गराइएको हो।

Advertisement

नगर प्रमुख साह स्वयं स्थलमा पुगेर सिँचाइ नहरको स्थलगत निरीक्षण गरे। निरीक्षणपछि उनले सम्बन्धित प्राविधिकहरूलाई सिँचाइ सुधार कार्य तीव्र पार्न निर्देशन समेत दिएका छन्। उनले भने, “कृषकहरूलाई समयमै पानी पुर्‍याउनु हामी सबैको जिम्मेवारी हो। यो समस्या धेरै लामो समयदेखि थियो, अब हामी यसलाई दीर्घकालीन समाधानतर्फ लैजानेछौं।”

स्थानीय बासिन्दाहरूले समेत जनप्रतिनिधिको यस सक्रियताप्रति धन्यवाद ज्ञापन गरेका छन्। वडा ६ का किसान रामेश्वर यादव भन्छन्, “हामीलाई विगत केही वर्षदेखि पानीको समस्या थियो। अब सफा नहरमार्फत पानी सहजै आउन थालेको छ। धान रोप्न सकियो, अब बाली राम्रो हुन्छ भन्ने आशा छ।”

उपभोक्ता समिति अध्यक्ष तेजनारायण साहले भने, “हामीले नहर सरसफाइको लागि स्थानीय सहयोगसमेत लिएका छौं। सबैको सहभागितामा काम भइरहेको छ। यो केवल सुरु हो, हामीले अझै राम्रो बनाउने योजना बनाएका छौं।”

नहर मर्मत कार्य सम्पन्न भएसँगै देवाही गोनाही नगरपालिका–५ र ६ का करिब १ हजार ५०० भन्दा बढी घरधुरीलाई सिँचाइको सुविधा सहज हुनेछ। यसले क्षेत्रको समग्र कृषि उत्पादनमा वृद्धि ल्याउने अपेक्षा गरिएको छ।

स्थानीय सरकार, उपभोक्ता समिति र जनप्रतिनिधिहरूको समन्वयबाट भएको यो कार्यले अन्य क्षेत्रका स्थानीय तहहरूलाई पनि जनसहभागितामूलक विकास कार्यमा उत्प्रेरणा दिने विश्वास लिइएको छ। न्युजकारखाना

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर