Sunday, June 28, 2026

सिडियो कार्यालयमा अनलाइन मिडिया दर्ता गर्नु पर्ने प्रावधान प्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं, २२ असार । नेपाल पत्रकार महासंघले अनलाइन मिडियाहरू दर्ता सम्बन्धि नयाँ ब्यवस्था प्रति असहमति प्रकट गरेको छ । अनलाइन मिडिया अब जिल्ला प्रमुख अधिकारी (सिडियो) को कार्यालयमा दर्ता गर्नुपर्ने ब्यवस्था गरे पछि महासंघले आपत्ति जनाएको हो ।

सो आदेश एकतन्त्रीय पञ्चायतकालीन प्रावधानकै निरन्तरता रहेको टिप्पणी गरेको महासंघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यो संविधानको परिकल्पनाभन्दा बाहिरको विषय भएको समेत स्पष्ट पारेको छ । सरकारलाई पछिल्लो निर्णयबाट फर्किन पनि अनुरोध गरेको छ ।

यस्ताे छ पत्रकार महासंघकाे धारणाः

अनलाइन सञ्चारमाध्यम दर्ता, सञ्चालन र नवीकरण स्थानीय प्रशासनमा गर्ने व्यवस्था गरी कार्यान्वयनमा ल्याएकोमा महासंघको गम्भीर ध्यानाकर्षण

केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ अन्तर्गत छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ता, सञ्चालन र नवीकरण स्थानीय प्रशासनमा गर्ने व्यवस्था गरी कार्यान्वयनमा ल्याएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । विद्यमान संविधानले परिकल्पना नगरेको प्रमुख जिल्ला अधिकारीको कार्यालयमा अनलाइन सञ्चारमाध्यम दर्ता, सञ्चालन र नवीकरणको व्यवस्था संविधानको प्रावधान र संघीय शासन प्रणाली विपरित रहेको महासंघको ठहर छ । यो व्यवस्थालाई पत्रपत्रिका प्रमुख जिल्ला अधिकारीको कार्यालयमा दर्ता गर्ने एकतन्त्रीय पंचायतकालीन प्रावधानकै निरन्तरताका रुपमा लिन सकिन्छ । सरोकारवाला पक्षसँग व्यापक छलफल र परामर्शमा नीति निर्माण गर्ने लोकतान्त्रिक संस्कार र मान्यता विपरित सरकार र संघीय संसदको मिलेमत्तोमा ल्याइएको नयाँ प्रावधान आपत्तिजनक, अस्पष्ट र अव्यवहारिक रहेकोे महासंघको बुझाई छ । एकातिर दीर्घकालीन प्रभाव पार्ने कानुनी व्यवस्था कार्यान्वयनमा आउनु, अर्कोतिर दर्ता भई सञ्चालनमा रहेका करिब पाँच हजार वटा अनलाइन सञ्चारमाध्यमको अवस्था के हुने, नवीकरण कहाँ के कसरी गर्ने भन्ने अन्यौलताबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ठाडो आदेशमा सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण कार्य हठात स्थगन गर्नुले थप सन्देह पैदा गरेको छ । अहिलेको डिजिटल युगमा पत्रपत्रिका समेत दर्ता नगर्ने कतिपय देशको अभ्यास र आमसञ्चारसम्बन्धी छाता ऐनको मस्यौदामा नै सबै सञ्चारमाध्यम पालिकामा दर्ता गर्ने प्रावधान उल्लेख गरिएको सन्दर्भमा सरकारले चालेको पछिल्लो कदमलाई उल्टो बाटोमा हिडन खोजेको अर्थमा लिन सकिन्छ । सञ्चारमाध्यम यस सम्बन्धी विभागीय मन्त्रालय वा त्यस मातहतकै निकायसँग सम्बन्धित विषय हो । यो विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देखाएको उदासिनता आपत्तिजनक छ । अतः दर्ता भएका अनलाइन सञ्चारमाध्यमको नवीकरण र नयाँ दर्ताका सम्बन्धमा सरोकारवाला पक्षसँग व्यापक छलफल गरी निष्कर्षमा पुग्न महासंघ सरकारसँग अनुरोध गर्दछ । यसका साथै विद्यमान अन्यौलता हटाई अनलाइन सञ्चारमाध्यम सहज संचालनको प्रवन्ध मिलाइ प्रेस स्वतन्त्रताको सम्मान गर्न जोडदार माग गर्दछ । अन्यथा महासंघ आवश्यक परामर्शपछि आन्दोलित हुन बाध्य हुनेतर्फ सरकारको ध्यानाकर्षण गराउँदछ ।

रामप्रसाद दाहाल/महासचिव

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर