कलैया, २३ साउन। पर्सा प्रहरीले ३० लाख रुपैयाँ जरिवाना सहितको बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ निवासी ३२ वर्षीय सु्निल कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।
प्रहरीका अनुसार जिल्ला अदालत पर्साले बैंकिङ कसूर मुद्दामा दोषी ठहर गर्दै साहलाई १० दिन कैद र ३० लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। तर, फैसला भएपछि उनी फरार रहेका थिए।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यन्वयन टोलीले साहलाई वीरगञ्ज स्थित आफ्नै घरबाट पक्राउ गरेको हो । प्रहरीले साहलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत पर्सामा पेस गरेको जनाएको छ।





