Tuesday, June 16, 2026

नेपाली पर्वहरूले समानताको सन्देश प्रवाह गर्दै आएका छन् : उपराष्ट्रपति

कलैया, २४ साउन। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले रक्षाबन्धन, जनैपूर्णिमालगायत विभिन्न पर्वले विविधताभित्रको एकता, लैङ्गिक समानता र सामाजिक मिलनको सन्देश प्रवाह गर्दै आएको बताएका छन। श्रावण पूर्णिमा तिथिमा मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) तथा गुँःपुन्हिको पावन अवसरमा आज देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन।

उनले शुभकामना सन्देशमा भनेका छन,”तराई–मधेशमा मधेशीलगायतको समुदायका दिदीबहिनीले रक्षाबन्धनको अवसरमा दाजुभाइलाई राखी बाँध्दै दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्छन् भने दाजुभाइले दिदीबहिनीप्रति समर्पण र संरक्षणको भाव प्रकट गर्ने परम्परा रहीआएको छ । यसले पारस्परिक सम्बन्धलाई अझ मजबुत बनाउन सघाउँदछ । त्यस्तै, यो पर्व जनै पूर्णिमाका रुपमा मनाउनेहरुले यज्ञोपवीत परिवर्तन गरी ऋषिपूजन तथा तर्पण कर्म सम्पन्न गर्दै भव्य आस्थाका साथ मनाउँछन् । यस दिन गुरुजनहरुबाट मन्त्रपाठसहित बाँधिने रक्षासूत्र भय निवारण एवं आत्मबल सुदृढीकरणको प्रतीक मानिन्छ ।”

भूगोल, जाति, समुदाय र क्षेत्रगत विविधतायुक्त यी मौलिक पर्वहरू रैथाने संस्कृति तथा परम्पराबाट समृद्ध छन्, जुन हाम्रो साझा पहिचान र राष्ट्रिय गौरवका प्रतीक समेत रहेको उपराष्ट्रपति यादवले बताएका छन।

उनले भने,”नेवार समुदायले श्रावण पूर्णिमालाई ‘गुःपुन्हि’ को रुपमा मनाउने परम्परा छ । यस पर्वले नेवार समुदायमा शारीरिक शुद्धता, पारिवारिक स्वास्थ्य तथा समृद्धिको कामना सहित धार्मिक एवं सांस्कृतिक पुनर्जागरणको कार्यमा सहयोग गर्दछ । यस अवसरमा क्वाँटी खाने, विशेष प्रकारका रोटीहरु पकाएर घरका देवता तथा पुर्खाका नाममा चढाउने, धार्मिक अनुष्ठान गर्ने, परिवार र समुदायबीच जमघट गर्दै यो पर्व मनाइन्छ ।”

“यस पर्वका अवसरमा मुलुकको राष्ट्रिय एकता, अखण्डता तथा सार्वभौमिकता अझ बलियो बनोस् भन्ने कामना गर्दै सबै नेपाली नागरिकको जीवनमा शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगति होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।” उपराष्ट्रपति यादवले भने

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर