Saturday, June 6, 2026

कोल्हवीमा अत्याधुनिक हाटबजार अन्तिम चरणमा

spot_img

रौतहट,०४ भदौ । बाराको कोल्हवी नगरपालिकामा अत्याधुनिक तथा सुविधा सम्पन्न हाटबजार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

कोल्हबी नगरपालिकाको मुख्य चोकमा निर्माण भइरहेको हाटबजारको करिब ९५ प्रतिशत काम सकिएको र बाँकी ५ प्रतिशत काम केही दिनमै पूरा हुने साईट ईन्चार्ज दिनेश खनालले जानकारी दिए।

करिब ३ विघाह क्षेत्रफलमा फैलिएको हाटबजार सात वटा ब्लकमा विभाजन गरिएको छ, जहाँ फरक–फरक सामान बिक्रीका लागि छुट्टै कक्ष बनाइएका छन्। मिसन कन्ट्रक्सन एण्ड सप्लायर्सले निर्माण गरिरहेको हाटबजारमा ७२ वटा सटर भएको तीनवटा सपिङ कम्प्लेक्स, २६ वटा सटर भएको दुईवटा भवन, दुईवटा खुद्रा बजार र अन्य ब्लकमा मार्केट स्टल रहने व्यवस्था गरिएको छ। मार्केट स्टलबीचको खुला क्षेत्रमा हाट लाग्ने व्यवस्था गरिएको खनालले बताए।

लामो समयदेखि साँघुरो र असुरक्षित ठाउँमा व्यापार गर्दै आएका व्यवसायीलाई एकीकृत बजार प्रणालीमा ल्याउने उद्देश्यले हाटबजार निर्माण गरिएको कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले बताए।

उनले भने, “हाटबजार सञ्चालनमा आएपछि व्यवसायीको स्वास्थ्यमा असर नपर्नेछ, कृषकले उत्पादन गरेका तरकारी तथा फलफूलको बजार पाउनेछन्। यसलाई नगरपालिकाको गौरवको आयोजना मानिएको छ। नगर विकास कोष र नगरपालिकाबाट विनियोजित १८ करोड रुपैयाँको बजेटमा सुरु भएको निर्माण कार्य असोज महिनादेखि सञ्चालनमा ल्याइनेछ, जुन बारा जिल्लाकै नमुना हाटबजार हुनेछ।”

नगरपालिकाका इन्जिनियर गणेश प्रसाद चौधरीका अनुसार हाटबजारमा पर्खाल, अण्डर पास नाला, सडक स्तरोन्नति, इन्टरलक टायल, शौचालयलगायतका संरचना तयार भइसकेका छन्। साथै व्यवस्थित पार्किङ, विश्रामस्थल र मूल्य सूचीसहितको डिस्प्ले बोर्ड समेत राखिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर