कलैया, २६ असोज। पर्सामा आज (आइतबार) देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लामा रहेको १४ वटै स्थानीयमा आज देखि कात्तिक २ गतेसम्म हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
पर्सामा गत भदौको पहिलो साता हैजाको सङ्क्रमणका बिरामी देखा परेका थिए । गत भदौ ६ मा पर्साको वीरगञ्ज महानगरपालिका-१२ को मुरली टोलबाट सुरु भएको हैजाबाट हालसम्म पर्सा र बारामा एक हजार ६ सय ८५ बिरामी भएका छन् । उक्त अभियानका निम्ति स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार एक सय मात्रा खोप पर्सा र बारामा पठाएको जनाएको छ ।
पर्सामा ६ लाख ५२ हजार १ सय १९ जनालाई खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिएका छन्। यो अभियानमा एक वर्षभन्दामाथि उमेर समूहका सबैलाई खोप दिइनेछ । गर्भवती महिला र स्तनपान गराई रहने महिलालाई पनि यो खोप दिन सकिने जनाइएको छ । प्रतिकार्यस्वरूप सञ्चालन गर्न लागिएको हैजाविरुद्धको अभियानमा एकपटक खोप दिइने छ। उक्त खोप अभियान बारामा असोज २९ गतेदेखि शुरू हुने छ।