कलैया, १३ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्। देब्रे खुट्टामा लागेको चोटमा संक्रमण देखिएपछि उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो।
लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो। समयसँगै उक्त चोटमा संक्रमण फैलिँदै छालाको भित्री तहसम्म पुगेपछि चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरी उपचार थालिएको जनाइएको छ।
आचार्यका अनुसार यस प्रकारको संक्रमण जोखिमपूर्ण हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखेर उपचार गरिनेछ। चिकित्सकहरूले पूर्ण रूपमा स्वास्थ्यमा सुधार आएपछि मात्रै नियमित गतिविधिमा फर्किन सुझाव दिएका छन्।
स्वास्थ्यमा सुधार भएपछि मात्रै उनी पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा सक्रिय हुने लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिएका छन् ।




