कलैया, २७ माघ। वीरगन्जको आदर्शनगरस्थित एक अवैध गोदाममा छापा मार्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गर्ने चार जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सोमबार आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा छापा मारेको थियो। भन्सार छली गरेर ल्याइएका कपडाहरू अवैध रूपमा भण्डारण गरिएको सूचनाका आधारमा टोली त्यहाँ पुगेको थियो। सो क्रममा स्थानीय व्यापारीहरूको एक समूहले प्रहरी टोलीमाथि आकस्मिक आक्रमण गरेको थियो।
आक्रमणमा परी ३ जना सशस्त्र प्रहरी घाइते भएका छन्। यस्तै सशस्त्र प्रहरीका २ वटा सवारीसाधनमा तोडफोड गरी क्षति पुर्याइएको छ। झडपका बीच प्रहरीले करिब १२ लाख ५० हजार रुपैयाँ बराबरको अवैध कपडा बरामद गर्न सफल भएको छ।
पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको जानकारी दिएका छन् । उनका अनुसार प्रहरीले सीसीटीभी फुटेजको आधारमा आक्रमणकारीहरूको पहिचान गरिरहेको छ भने हाल अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरूको नाम प्रक्रिया पूरा भएपछि मात्र सार्वजनिक गरिनेछ।





