कलैया, १६ फागुन। मध्यपूर्वमा बढ्दै गएको सैन्य तनावलाई मध्यनजर गर्दै नेपाल सरकारले आफ्ना नागरिकहरूलाई इरान र इजरायलको यात्रा नगर्न विशेष अपिल गरेको छ।
अमेरिका र इजरायलले इरानमा सैन्य आक्रमण सुरु गरेसँगै परराष्ट्र मन्त्रालयले एक ट्राभल एडभाइजरी जारी गर्दै स्थिति सामान्य नहुँदासम्म ती देशहरूको भ्रमण नगर्न कडाइका साथ सुझाव दिएको हो। मन्त्रालयले मध्यपूर्वको विकसित परिस्थितिलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै त्यहाँ रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षाका उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ।
यसैबीच इजरायलस्थित नेपाली राजदूतावासले पनि त्यहाँ कार्यरत तथा बसोबास गरिरहेका नेपाली नागरिकहरूका लागि विशेष सुरक्षा सूचना जारी गरेको छ। दूतावासले स्थानीय सुरक्षा निकायहरूले दिएका निर्देशनहरूलाई अक्षरसः पालना गर्न, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सधैं सजग रहन अनुरोध गरेको छ।
साथै, आफ्नो क्षेत्रमा रहेका अन्य नेपाली समुदाय र दूतावाससँग नियमित सम्पर्कमा रहन समेत आग्रह गरिएको छ।





