कलैया, १ चैत । सुर्खेतमा १६ वर्षीया किशोरी इनिशा विकको हत्या प्रकरणलाई लिएर बाराको सदरमुकाम कलैयामा दबाबमूलक प्रदर्शन गरिएको छ। दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आइतबार साँझ स्थानीय युवाहरूले दीप प्रज्वलन तथा खबरदारी कार्यक्रम आयोजना गरेका हुन्।
कलैयाको मुख्य चोकमा भेला भएका युवाहरूले “दोषीलाई कडा कारबाही गर”, “देशका छोरीहरू एक हौं” र “बलात्कारी विरुद्ध अभियान चलाऔँ” जस्ता नारा लगाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए।
गत फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–१ की इनिशा विकको शंकास्पद अवस्थामा मृत्यु भएको थियो। वीरेन्द्रनगर–६ स्थित एक विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशा प्रयोगात्मक कक्षाका लागि घरबाट निस्किएकी थिइन्। तर, उनी वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परिन्।
सोही दिन कर्णाली प्रदेश अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। इनिशाको पोस्टमार्टम रिपोर्टले अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको देखाएको छ। प्रहरीले अनुसन्धानका क्रममा हालसम्म चार जनालाई नियन्त्रणमा लिएको छ। एक १६ वर्षीय बालक, जसले प्रहरी समक्ष इनिशासँग शारीरिक सम्बन्ध राखेपछि रक्तश्राव भएको र उनी बेहोस भएको बयान दिएका छन्। घटनामा संलग्नताको आशंकामा थप तीन जना बालकलाई नियन्त्रणमा लिएर प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ।
प्रदर्शनकारी युवाहरूले घटनाको गहिराइमा पुगेर निष्पक्ष छानबिन गर्न र दोषीलाई कुनै पनि हालतमा उम्कन नदिन माग गरेका छन्। किशोरीहरूको सुरक्षा र न्यायका लागि राज्य गम्भीर हुनुपर्ने उनीहरूको जोड छ।
सिमरामा समेत खबरदारी
कलैयासँगै बाराको सिमरामा समेत दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ। सिमराका स्थानीय युवाहरूले स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएर इनिशाको न्यायका लागि आवाज उठाएका हुन्। “जस्टिस फर इनिशा विक” भन्दै उनीहरूले दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्।





