कलैया, ०३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि दुईदिने विशेष अभिमुखीकरण कार्यक्रम सुरु गर्दैछ।
ललितपुरको ग्वार्कोस्थित एक होटलमा आयोजना गरिएको यस ‘संसदीय पाठशाला’ मा सांसदहरूलाई संसदीय मर्यादा, नीति निर्माण प्रक्रिया र जनउत्तरदायी भूमिकाका बारेमा विस्तृत प्रशिक्षण दिइने कार्यक्रम छ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी कुल १८२ सिट जितेर प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको रास्वपाले आफ्ना सांसदहरूलाई संसद् प्रवेशअघि नै कार्यप्रणालीबारे अभ्यस्त बनाउन यो पहल गरेको हो।
पार्टी प्रवक्ता मनिष झाका अनुसार, अभिमुखीकरणमा अनुभवी विज्ञ तथा संसदीय मामिलाका जानकारहरूले सांसदहरूलाई प्रशिक्षण दिनेछन्। महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी गरिएको छबुँदे निर्देशनमा कार्यक्रमको गम्भीरतालाई ध्यान दिँदै विशेष व्यवस्था गरिएको छ।
प्रशिक्षण अवधिभर सांसदहरूलाई मोबाइल प्रयोग गर्न, परिवारका सदस्य वा बाह्य पाहुनासँग भेटघाट गर्न र फोटो खिच्न समेत निषेध गरिएको छ। सांसदहरूलाई निर्धारित बिजनेस क्याजुअल पोसाकमा उपस्थित हुन भनिएको छ । कार्यक्रम चैत ४ गतेसम्म चल्नेछ।





