कलैया, ०३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग संशोधन गर्ने निर्णयविरूद्ध दायर भएको रिटमा मंगलबार (फागुन ३) पनि सुनुवाइ टुङ्गिएन।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा भएको उक्त सुनुवाइमा दुवै पक्षका कानुन व्यवसायीहरूले आ-आफ्नो तर्क प्रस्तुत गरेका थिए। बुधबार सार्वजनिक बिदा परेका कारण अब यस मुद्दाको अर्को सुनुवाइ आगामी चैत ५ गते हुने तय भएको छ।
मंगलबारको बहसमा लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमणकुमार श्रेष्ठ, अधिवक्ता दिपेन्द्र झा र नारायणदत्त कँडेल लगायतले प्रतिरक्षा गर्नुभएको थियो।
त्यसैगरी, रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसहित अधिवक्ताहरू टीकाबहादुर कुँवर, आभाष रेग्मी र आयुष बडालले जवाफी बहस गरेका थिए । अघिल्लो सरकारको पालामा लामिछाने विरुद्ध गरिएको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरिएको थियो।
महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णयलाई बदर गर्न माग गर्दै युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र आभास रेग्मीले सर्वोच्चमा छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए ।





