कलैया, ०५ चैत । कम्बोडियामा आकर्षक कमाइको प्रलोभनमा परी अनलाइन स्क्यामिङ र अन्य गैरकानुनी काममा लगाइएका २० जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ।
थाइल्याण्डस्थित नेपाली दूतावास र कम्बोडिया सरकारको समन्वयमा उनीहरूलाई आज काठमाडौँ ल्याइएको हो। उद्धार गरिएका व्यक्तिहरूलाई त्यहाँका क्यासिनो र अवैध केन्द्रहरूमा राहदानी जफत गरी बन्धक बनाउने तथा बिना भिसा काममा लगाउने गरिएको पाइएको छ।
हालैका वर्षहरूमा भिजिट भिसामा कम्बोडिया जाने नेपालीहरूको संख्या उल्लेख्य बढेको तथ्याङ्कले देखाउँछ, जसमध्ये धेरैजसो ठगीको जोखिममा पर्ने गरेका छन्।
यस घटनापश्चात् नेपाली दूतावासले वैदेशिक रोजगारीका लागि कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता मुलुकहरूमा जाँदा श्रम स्वीकृति नलिई र कसैको प्रलोभनमा परी भ्रमण भिसामा नजान आग्रह गरेको छ ।





