कलैया, ०७ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको समेत प्रभाव देखिएकाले देशभरिको मौसममा उल्लेख्य बदलाव आएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीसहितका सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रहरू पूर्णतया बादलले ढाकिएका छन्। विशेषगरी बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा अहिले मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने उच्च हिमाली भेगमा हिमपातको स्थिति रहेको छ।
आज दिउँसोको समयमा पनि मौसममा सुधार हुने देखिँदैन। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानहरूका साथै अन्य प्रदेशका केही भू-भागमा असिना, हावाहुरी र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यो क्रम रातिसम्मै जारी रहने प्रक्षेपण गरिएको छ।
रातिको समयमा आकाश साधारणतया बादलले ढाकिने र कोशी प्रदेशलगायत अन्य पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।





