कलैया, १० चैत । चैती छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ । चैत शुक्ल षष्ठीका दिन मनाइने यस पर्वको मुख्य दिन आज (चैत १० गते) साँझ व्रतालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गरेका छन् ।
कलैयाका प्रसिद्ध रामजानकी मन्दिरको घाट सहित जिल्लाको विभिन पोखरी र नहरहरूलाई सिँगारेर भक्तजनहरूले निष्ठापूर्वक पूजा–आराधना गरेका हुन् । यो पर्वको धार्मिक र सांस्कृतिक महत्व निकै गहिरो छ । चैती छठको विधिअनुसार, व्रतालुहरूले अघिल्लो दिन खरना विधि सम्पन्न गरी निराहार व्रत बसेका थिए ।
आज साँझ ठेकुवा, भुसुवा, केरा, उखु, र विभिन्न मौसमी फलफूलहरू बाँसको डालो र नाङ्लोमा राखेर अस्ताउँदो सूर्यलाई पूजा गरिएको छ । विशेष गरी सन्तान प्राप्ति, परिवारको सुख–शान्ति र रोगव्याधिबाट मुक्तिका लागि सूर्यदेव र छठी माईको आराधना गर्ने गरिन्छ ।
भोलिपल्ट अर्थात् चैत ११ गते बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि चार दिने यो कठिन व्रत विधिवत् रूपमा समापन हुनेछ । कात्तिकमा मनाइने छठ जत्तिकै भव्य नभए पनि पछिल्ला वर्षहरूमा चैती छठ मनाउनेहरूको संख्या बारा लगायतका क्षेत्रमा उल्लेख्य रूपमा बढ्दै गएको छ ।





