कलैया, ११ चैत । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखामा आज बिहान भएको ट्रक दुर्घटनामा परी वीरगन्जका एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त दुर्घटनामा वीरगन्ज महानगरपालिका–३२ निवासी २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर चोट लागेका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी सोही स्थानका ३३ वर्षीय ट्रक चालक कृष्ण यादव दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। उनलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि चितवन पठाइएको छ।
ट्रक दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।





