कलैया, १३ चैत । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज देशभर भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा आजकै दिन विष्णुको सातौँ अवतारका रूपमा श्रीरामको जन्म भएको थियो।
भगवान् रामले राक्षसी प्रवृत्तिको अन्त्य गरी लोककल्याणकारी रामराज्य स्थापना गर्नुभएको थियो। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, रामनवमी मनाउनुको मुख्य अर्थ रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित शासक एवं जनता बन्ने प्रेरणा प्राप्त गर्नु हो। रामलाई मर्यादा पुरुषोत्तमका रूपमा सम्मान गरिन्छ।
शास्त्रीय मान्यताअनुसार आजका दिन व्रत बसी रामचन्द्रको पूजा, जप र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने र श्री प्राप्ति हुने विश्वास छ। चैत्र शुक्ल अष्टमीमा अष्ट मातृकाको पूजा र नवमीमा रामको आराधना गर्ने परम्परा छ। आजको दिन जनकपुर र अयोध्यामा विशेष रामलीला प्रदर्शन गरिन्छ।
परापूर्वकालमा वासन्तीय नवरात्र (चैते दसैँ) लाई नै मुख्य दसैँ मानिने गरिए पनि गर्मीका कारण पछि असोजमा ठूलो दसैँ मनाउन थालिएको धार्मिक मत छ। चैत र असोजका नवरात्रलाई ‘जाग्रत दसैँ’ मानिन्छ। यस विशेष अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ।





