कलैया, १४ चैत । पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परे पछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै गृहमन्त्री सुधन गुरुङले यस कदमलाई विधिको शासनको जीतका रूपमा व्याख्या गरेका छन्।
उनले लेखेका छन्, “PROMISE IS A PROMISE: कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।”
गृहमन्त्री गुरुङले अब देशले नयाँ दिशा लिने विश्वास व्यक्त गर्दै पीडित परिवारले न्याय पाउने सुनिश्चितता समेत गरेका छन्। प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले २०८२ भदौमा भएको जेन-जी आन्दोलनको दमन र त्यसक्रममा भएका मानवीय क्षतिका विषयमा छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै प्रहरीले यो सक्रियता देखाएको हो।





