कलैया, १६ चैत । सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने प्रक्रियामा रहेको झन्झटिलो टोकन प्रणालीलाई अन्त्य गरी आवेदन दिएकै दिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा आइतबार बसेको बैठकले सेवाग्राहीलाई सहज रूपमा श्रम स्वीकृति उपलब्ध गराउने यस्तो व्यवस्था गरेको हो। यसअघि टोकन लिएर तोकिएको दिन मात्रै स्वीकृति दिने व्यवस्थाका कारण श्रमिकहरूले लामो समय कुर्नुपर्ने बाध्यता थियो।
यसका साथै मन्त्रालयले पूर्व प्रस्थान अभिमुखीकरण तालिमलाई पूर्ण रूपमा अनलाइन बनाउने र डिजिटल माध्यमबाट श्रव्य-दृश्य सामग्री उपलब्ध गराउने तयारी गरेको छ।
श्रमिकहरूको न्यूनतम ज्याला कार्यान्वयन, सामाजिक सुरक्षा कोषमा आबद्धता, र वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणका लागि पनि प्रभावकारी कदम चालिने मन्त्रालयले जनाएको छ।
थप पाँच मुलुकसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने तथा सबै प्रदेशमा निजी क्षेत्रसँगको सहकार्यमा सीप मेला आयोजना गरी आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने समेत सरकारको योजना रहेको छ।





