बारा, २५ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क लिने निजी विद्यालयहरूलाई कडा चेतावनी दिँदै मापदण्ड विपरित संकलित रकम फिर्ता गर्न निर्देशन दिएको छ।
प्रचलित कानुन र सर्वोच्च अदालतको आदेशको उल्लंघन गर्दै कतिपय विद्यालयले शैक्षिक सत्र सुरु हुनुअघि नै भर्ना लिने र तोकिएको मापदण्डभन्दा बढी शुल्क असुल्ने कार्य जारी राखेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।
यसअघि चैत २२ गते नै यस्ता गतिविधि सच्याउन निर्देशन दिइए पनि कार्यान्वयनमा अटेर गरेको गुनासो आएपछि मन्त्रालयले शिक्षा ऐनको दफा १६६ (६) बमोजिम शुल्क फिर्ता गर्न पुनः ताकेता गरेको छ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी सूचनाअनुसार, निर्देशन पालना नगर्ने विद्यालयहरूलाई थप कानुनी कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँग आवश्यक समन्वय गरिनेछ।
यसका साथै, विद्यार्थीको शुल्कसम्बन्धी गुनासो सुनुवाइ र सहजीकरणका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा छुट्टै सहायता कक्ष समेत स्थापना गरिएको छ। मन्त्रालयले नियम मिचेर शुल्क उठाउने विद्यालयहरूलाई कानुनी प्रक्रियामार्फत जवाफदेही बनाउने दृढता व्यक्त गरेको छ।





