बारा, २८ चैत । सरकारले हवाई यात्रुहरूको सुविधा र स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै देशभरका विमानस्थलहरूमा महत्वपूर्ण सुधारका योजनाहरू अघि सारेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थललाई आगामी २४ घण्टाभित्र अनिवार्य रूपमा स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ।
मन्त्रालयले यस्ता कक्षहरू सुरक्षित, सफा र गोपनीयता सुनिश्चित हुने गरी सञ्चालन गर्नुपर्ने तथा आवश्यकताअनुसार पुराना संरचनाको स्तरोन्नति गर्नुपर्ने कुरामा जोड दिएको छ। यसका साथै, बिरामी तथा विशेष आवश्यकता भएका यात्रुहरूका लागि छुट्टै प्राथमिक हेरचाहकक्ष सञ्चालन गर्न समेत निर्देशन दिइएको छ।
विमानस्थलको सेवालाई थप गुणस्तरीय बनाउन मन्त्रालयले सरसफाइ र स्वास्थ्य मापदण्डमा विशेष चासो देखाएको छ। अबदेखि विमानस्थलको सरसफाइलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउनुपर्ने र त्यसको रेखदेखका लागि दैनिक सरसफाइ लगबुक प्रणाली लागू गर्नुपर्नेछ। विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले तोकेका स्वास्थ्य मापदण्डहरू कडाइका साथ पालना गर्न निर्देशन दिँदै मन्त्रालयले शौचालयहरूमा महिला यात्रुहरूका लागि निःशुल्क ‘स्यानिटरी प्याड’को व्यवस्था गर्न समेत भनेको छ।
मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाद्वारा जारी गरिएको यस निर्देशनको प्रभावकारी कार्यान्वयन भए/नभएको बारे नियमित रूपमा मन्त्रालयलाई जानकारी गराउनुपर्नेछ। सरकारले यी निर्देशनहरू कार्यान्वयनको अनुगमनमा सर्वसाधारणलाई पनि सहभागी गराएको छ। यदि विमानस्थलहरूमा तोकिएका सुविधाहरू उपलब्ध नभएमा वा निर्देशन पालना नभएमा आम नागरिक तथा यात्रुले सोझै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारीलाई जानकारी दिन सक्ने व्यवस्था मिलाइएको छ।





