बारा, ११ वैशाख । लामो समयदेखि आर्थिक सङ्कट खेप्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थको अभावका कारण फेरि बन्द भएको छ।
गत महिना मात्रै केही मात्रामा क्लिङ्कर उत्पादन गरेको उद्योगले कोइला र ढुङ्गाजस्ता अत्यावश्यक कच्चा पदार्थ जुटाउन नसकेपछि उत्पादन प्रक्रिया पूर्ण रूपमा ठप्प पारेको हो।
उद्योगका सहायक प्रबन्धक भक्तिराम श्रेष्ठका अनुसार कच्चा पदार्थ आपूर्तिका लागि ठेकेदारहरूसँग सम्झौता भए तापनि उद्योगले रकम भुक्तानी गर्न नसक्दा ठेकेदारहरूले ढुवानी रोकेका छन्। हाल उद्योगमा मौज्दात रहेको कच्चा पदार्थबाट पाँच हजार टन क्लिङ्कर उत्पादन गरी सिमेन्ट प्याकेजिङको काम मात्र भइरहेको छ।
दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता भए तापनि व्यवस्थापकीय कमजोरी र आर्थिक अभावले उद्योग सधैँजसो बन्द रहने गरेको छ। उत्पादन बन्द हुनुका साथै उद्योगका मेसिनहरूमा समेत प्राविधिक समस्या देखिएकाले हाल मर्मत कार्य जारी छ।
चरम आर्थिक अभावका कारण उद्योगमा कार्यरत १६६ जना स्थायी, १०० जना दैनिक ज्यालादारी र ५२ जना सुरक्षाकर्मीले विगत १० महिनादेखि तलब पाउन सकेका छैनन्।





