बारा, ११ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले काठमाडौँका नदीकिनारमा रहेका जोखिमपूर्ण बस्तीहरूको व्यवस्थापन र देशभरका सुकुम्बासी समस्या समाधान गर्न सरकार दृढ रहेको बताएका छन्।
उनले फेसबुकमा लेख्दै वर्षौँदेखि बाढी र डुबानको चपेटामा पर्दै आएका नागरिकहरूको सुरक्षाका लागि स्थानान्तरण अनिवार्य रहेको र यसलाई मानवीयताको दृष्टिकोणबाटै हल गरिने स्पष्ट पारे।
हरेक वर्ष वर्षायाममा नदीकिनारका बासिन्दाले भोग्नुपर्ने सास्तीलाई स्मरण गर्दै प्रधानमन्त्रीले भने, “नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार भनेको अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु होइन, सुरक्षित ठाउँमा जानु हो। जोखिमरहित व्यवस्थापन नै उहाँहरूको वास्तविक अधिकार हो।”
उनका अनुसार यी बस्तीका कारण उपत्यकाको ढल निकास प्रणाली निर्माणमा समेत अवरोध पुगेको छ, जसले गर्दा नदीहरू दुर्गन्धित भइरहेका छन्। थापाथली, गैरीगाउँ र मनोहरा लगायतका क्षेत्रका बासिन्दालाई बल प्रयोग नगरी सुरक्षित रूपमा स्थानान्तरण गर्ने सरकारको योजना रहेको उनले जानकारी दिएका छन्।
देशभर रहेका लाखौँ सुकुम्बासी र काठमाडौँका खोला किनारको समस्या फरक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अब अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याउने बताएका छन्। “हामी सरकारमा छौँ; वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ, ढुक्क हुनुहोस्,” उनले लेखेका छन्।
अधिकार र भोटको राजनीतिका नाममा नागरिकको जीवनसँग खेलबाड गर्ने दिन अब सकिएको संकेत गर्दै प्रधानमन्त्रीले यस पटक ठोस नतिजा निस्कने दाबी गरेका छन्।





