बारा, १२ वैशाख । महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैया देखि चुरियामाई खण्डमा सडक सीमा मिचेर बनाइएका संरचनाहरू व्यवसायीहरूले आफैँ हटाउन थालेका छन्।
सडक डिभिजन कार्यालय हेटौंडाले सडकको केन्द्रविन्दुबाट दायाँ-बायाँ २५–२५ मिटर भित्र पर्ने अवैध घर, टहरा र पसलहरू हटाउन ३ दिनको अन्तिम अल्टिमेटम दिएपछि अमलेखगन्ज स्थित ३ नम्बर पुल नजिकका व्यवसायीहरूले स्वत:स्फूर्त रूपमा आफ्ना संरचना हटाउन थालेका हुन्।
डिभिजन कार्यालयले वैशाख १० गतेभित्र सडक सीमा खाली गर्न सूचना जारी गर्दै अटेर गरेमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार डोजर प्रयोग गरी संरचना भत्काइने सूचना जारी गरेको थियो।
विगतमा पटक–पटक सूचना जारी गर्दा पनि स्थानीयले बेवास्ता गरेपछि यसपटक प्रधानमन्त्री बालेन शाह आए देखि देशभर अतिक्रमित घर टहरा हटाउनेमा केन्द्र बाट नै कडा कदम चालेको हो।
राजमार्गको क्षेत्र खाली गराएपछि सडक विस्तार र मर्मत कार्यमा सहज हुने विश्वास लिइएको छ। प्रशासनको सक्रियता र सम्भावित क्षतिलाई मध्यनजर गर्दै व्यवसायीहरूले आफ्ना सामान सुरक्षित स्थानमा सार्दै संरचनाहरू भत्काउन सुरु गरेका हुन्।








