बारा, १६ वैशाख । सरकारले निजामती कर्मचारीहरूको महिनामा दुई पटक तलब भुक्तानी गर्ने नयाँ प्रणालीको सुरुवात गरेको छ।
पहिलो चरण अन्तर्गत अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो १५ दिनको पारिश्रमिक आजै आफ्नो बैंक खातामा प्राप्त गरेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत वैशाख ४ गते कर्मचारीहरूको क्यास फ्लो व्यवस्थापनमा सुधार ल्याउन र बजारमा मुद्राको चलायमानता बढाउन महिनाको दुई पटक तलब दिने निर्णय गरेका थिए।
महालेखा नियन्त्रक शोभाकान्त पौडेलका अनुसार यो प्रणाली अहिले दुई निकायबाट सुरु गरिएको भए पनि अब क्रमिक रूपमा संघीय सरकारका सबै कार्यालयहरूमा विस्तार गरिनेछ।
यसअघि महिनाको अन्त्यमा एकै पटक तलब पाउने व्यवस्था रहेकोमा, अब १५–१५ दिनको अन्तरालमा कर्मचारीलाई तलब भुक्तानी गर्दा बजारमा नियमित माग सिर्जना हुने र अर्थतन्त्र चलायमान हुने उनको भनाइ छ । यस्तै, यसले उपभोग खर्चको वितरण समान रूपमा फैलिने साना व्यवसायीहरूको नगद प्रवाह बढ्ने उनले बताए ।
महालेखा नियन्त्रक कार्यालयले यसका लागि आवश्यक प्राविधिक प्रणाली तयार पारिसकेको र आगामी दिनमा सबै संघीय निकायका कर्मचारीहरूले यसै बमोजिम तलब प्राप्त गर्ने जानकारी दिएको छ।





