बारा, २३ वैशाख । जिल्ला प्रशासन कार्यालय बाराले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता प्रक्रियालाई सहज बनाउँदै अबदेखि सेवाग्राहीहरूले अनलाइन आवेदन (प्रि-इनरोलमेन्ट) फाराम भर्नु नपर्ने नयाँ व्यवस्था लागू गरेको छ।
गृह मन्त्रालयको गत चैत ८ गतेको निर्णयअनुसार, केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली बीच अन्तरआबद्धता कायम भएसँगै यो सुविधा कार्यान्वयनमा आएको हो।
जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार २०८२ चैत ८ गते वा सोभन्दा पछि नागरिकता प्राप्त गरेका व्यक्तिहरूले अब राष्ट्रिय परिचयपत्रका लागि छुट्टै अनलाइन फाराम भरिरहनु पर्दैन।
उनीहरूले नागरिकता लिएलगत्तै सिधै राष्ट्रिय परिचयपत्र शाखामा गएर आफ्नो विवरण दर्ता गराउन सक्नेछन्। यद्यपि, सो मितिभन्दा अगाडि नै नागरिकता लिइसकेका नागरिकहरूको हकमा भने पुरानै व्यवस्थाअनुसार अनलाइन फाराम भरेर मात्र सेवा लिन सकिने कार्यालयले सूचना जारी गर्दै जनाएको छ।





