बारा, २३ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका कप्तान आरिफ शेख प्रहरी सहायक हवल्दार पदमा पदोन्नति भएका छन्।
जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा कार्यरत शेखलाई उनको उत्कृष्ट खेल कौशल र नेपाली क्रिकेटमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै विशेष बढुवा गरिएको हो।
बुधबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक विशेष समारोहका बीच प्रतिष्ठानका कार्यकारी निर्देशक एवं एआईजी सिद्दि विक्रम शाहले शेखलाई पदको दर्ज्यानी चिह्न सुशोभन गराएका थिए।
प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम ३९ बमोजिम प्रदान गरिएको यो विशेष बढुवाका लागि प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाले २०८३ वैशाख ११ गते निर्णय गरेको थियो।





