बारा, २४ वैशाख । सर्लाहीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ।
हरिपुर्वा नगरपालिका–९ खिला नजिकै ग १ ख ९४६७ नम्बरको बसले ना ४८ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१२ कान्तिबजारका ३६ वर्षीय श्याम ठाकुर (पप्पु) को मृत्यु भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका ठाकुरलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले घटनाको पुष्टि गर्दै मृतकको शव सोही अस्पतालमा राखिएको जानकारी दिए।
प्रहरीले दुर्घटनामा संलग्न बस र त्यसका धनी पर्सा गाउँपालिका–२ निवासी २७ वर्षीय मानिष कुमार महतोलाई नियन्त्रणमा लिएको छ। यद्यपि, बस चालक बद्री मण्डल भने हालसम्म फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको छ।
प्रहरीले घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।





