Thursday, June 4, 2026

माटिअर्वा छोटी भन्सार कार्यालयमा सिडिओको छड्के अनुगमन

spot_img

बारा, २५ वैशाख । बाराको कलैया उपमहानगरपालिका–१० स्थित सीमावर्ती क्षेत्रमा रहेको वीरगञ्ज भन्सार कार्यालय पर्साअन्तर्गत माटिअर्वा छोटी भन्सार कार्यालयमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले आज छड्के अनुगमन गरेका छन्।

अनुगमनका क्रममा भन्सार परिसरमा प्रदीप साह नाम गरेका ब्यक्तिले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई एक दिने पास इजाजत लिन आएका सेवाग्राहीसँग रकम असुली गरिरहेको आशंकामा उनको खन्तलासी गरिएको थियो। खन्तलासीका क्रममा उनको खल्तीबाट नगद रकम फेला परेपछि प्रमुख जिल्ला अधिकारी मिश्रले उनलाई चेतावनी दिएका हुन्।

छड्के अनुगमनकै क्रममा प्रमुख जिल्ला अधिकारी मिश्रले भन्सार कार्यालयमा ३४६०१ देखि ३४६५० नम्बरसम्मका बिल फेला नपरेको भन्दै चासो व्यक्त गरेका थिए। उनले हराइरहेका बिल तत्काल खोजी गरी सुरक्षित रूपमा राख्न निर्देशन दिएका छन्। साथै बिल क्रमशः काट्ने तथा कार्यालयका अभिलेख व्यवस्थित र सुरक्षित रूपमा राख्नसमेत निर्देशन दिएका छन्।

स्थानीयका अनुसार भन्सार क्षेत्रमा अनधिकृत रूपमा रकम उठाउने गतिविधिबारे लामो समयदेखि गुनासो आउने गरेको थियो। सोही गुनासोलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी मिश्रले छड्के अनुगमन गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी मिश्रले सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा गैरकानुनी रूपमा रकम असुल्ने कार्य सह्य नहुने चेतावनी दिएका छन्।

उक्त अनुगमनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुवँर, सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक सरोज निरौला तथा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म माटिअर्वाका सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष अधिकारीलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर