Saturday, August 8, 2026

भोलि देखि देशभरका सरकारी कार्यालयमा सरसफाइ अभियान

बारा, २७ वैशाख । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यका साथ आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको हो। सरकारी कार्यालयहरूमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह र स्वास्थ्यमा परेको नकारात्मक असरलाई मध्यनजर गर्दै यो नयाँ पहल सुरु गरिएको हो।

यस राष्ट्रिय अभियानको औपचारिक उद्घाटन आगामी वैशाख २८ गते बिहान ८:३० बजे वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताको उपस्थितिमा हुने तय भएको छ। सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३ अनुसार अभियानले न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त गर्ने लक्ष्य राखेको छ। मार्गदर्शनमा सरकारी सूचना बोर्ड, नागरिक वडापत्र र संकेत चिन्हहरूलाई व्यवस्थित बनाउने, चर्किएका भित्ताहरूको मर्मत तथा रंगरोगन गर्ने र मुख्य प्रवेशद्वारलाई आकर्षक राख्ने जस्ता महत्वपूर्ण कार्यहरू समावेश गरिएका छन्।

विशेष गरी सार्वजनिक शौचालयहरूको अवस्था सुधार गर्न यस पटक कडा मापदण्ड तोकिएको छ। सबै शौचालयहरूलाई दुर्गन्धरहित बनाउने, नियमित पानी र साबुनको व्यवस्था गर्ने तथा दैनिक सफाइको अभिलेख राख्नुपर्ने अनिवार्य नियम बनाइएको छ। साथै, शौचालयहरू महिलामैत्री, स्यानिटरी डिस्पोजल सुविधायुक्त र अपाङ्गतामैत्री हुनुपर्ने मार्गदर्शनमा उल्लेख छ। फोहोर व्यवस्थापनका लागि कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्नेछ भने खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।

अभियानले कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र, नाली, ढल र पार्किङ क्षेत्रको सुधारलाई पनि प्राथमिकता दिएको छ। सेवाग्राहीको सहजताका लागि हेल्प डेस्क र सूचना प्रणालीलाई चुस्त बनाइनेछ। यस अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्ने र साप्ताहिक कार्यतालिका बनाई मासिक रूपमा स्व-मूल्यांकन गर्नुपर्ने व्यवस्था गरिएको छ। यो अभियानले संघीय, प्रादेशिक, स्थानीय कार्यालयहरूका साथै सार्वजनिक शैक्षिक संस्थाहरूलाई समेत समेट्नेछ। यस अभियानको कार्यान्वयन र अनुगमनको पूर्ण जिम्मेवारी सम्बन्धित निकायका प्रमुखलाई दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर